क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा,मेस्सीले बनाए कीर्तिमान नै कीर्तिमान

 विश्वकप फूटबल २०२२     २०७९, २८ मंसिर बुधबार ०८:४२     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं, कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेल सकिएको छ। बुधबार बिहान १२ः४५ बजे शुरु भएको खेलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले पराजित गरेको छ।

खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले एक गोल गरेका छन् भने अल्भारेजले दुई गोल गरेका छन्।

यस खेलसँगै मेस्सीले नयाँ रेकर्डहरु बनाएका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका खेलाडी बनेका छन्। उनले हालसम्म विश्वकपमा ११ गोल गरेका छन्। यस अघि यो रेकर्ड गेब्रियल बतिस्तुताको नाममा थियो। बतिस्तुताले विश्वकपमा १० गोल गरी कायम गरेको रेकर्ड मेस्सीले तोडेका हुन्। विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा म्यारोडनाको नाम छ। उनले विश्वकपमा ८ गोल गरेका छन्।

यसका साथै मेस्सी जारी विश्वकपको गोल्डन बुट प्रतिस्पर्धामा पनि अगाडि आएका छन्। उनले ५ गोल सहित गोल्डन बुटको रेसमा शीर्ष स्थानमा रहेका एम्बाप्पेसँग बराबरी गरेका छन्।

त्यसैगरी, मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने पाका खेलाडीको रेकर्ड पनि आफ्नो नाममा पारेका छन्। ३५ वर्षिय मेस्सीले विश्वकपमा ५ गोल गर्दै सो रेकर्ड आफ्नो नाममा परेको हो।

मेस्सीको नाममा अर्को रेकर्ड भने सर्वाधिक विश्वकप म्याच खेल्ने खेलाडीको रेकर्ड तोडेका छन्। क्रोएशियासँगको खेल मेस्सीको २५ औँ खेल हो। यस अघि यो रेकर्ड जर्मनीका लोथर मथोसको नाममा थियो। उनले विश्वकपमा २५ खेल खेलेका थिए। अर्जेन्टिना फाइनलमा पुगेसँगै सो खेल मेस्सीको विश्वकपमा २६ औँ खेल हुनेछ। जसले गर्दा सर्वाधिक विश्वकप म्याच खेल्ने खेलाडीको रेकर्ड उनको नाममा हुनेछ।