विश्वकप फुटबलः पछिल्ला खेलमा ब्राजिल, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

 विश्वकप फूटबल २०२२     २०७९, ९ मंसिर शुक्रबार १३:१३     76 जनाले पढ़िसके



Spread the love

दोहा– फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत बिहिबार समुह चरण अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बिहिबार खेलिएका चार खेलमध्ये तीन खेलमा नतिजा निस्किएको छ भने एउटा खेल बराबरीमा टुंगिएको छ । पछिल्ला खेलमा विश्वकप उपाधिको दावेदार मानिएका ब्राजिल तथा पोर्चुगलले विजयी सुरुवात गरेका छन् ।

रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।

पहिलो हाफसम्म दुबै टोलीले गोलरहित खेल खेलेका थिए । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गर्यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका थिए । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्यपि, गोल भने हुन सकेन ।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसंगै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहिबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफसम्म दुबै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो । उनी लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए ।

यस्तै खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । लगत्तै खेलको ७७औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ७९औंँ मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पुर्याए ।

यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गरे । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो । पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पार्यो । जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।

उरुग्वे र दक्षिण कोरियाले बाँडे अंक

कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा बिहिबार भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यस बराबरी खेलसँगै समूह एचमा रहेको उरुग्वे र दक्षिण कोरियाले समान एक–एक अङ्क जोडेका छन् ।

स्विट्जरल्याण्ड विजयी

स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।

स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ । समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ ।