युभेन्टसविरुद्ध पीएसजीको जित, बेन्फिका समूह विजेता

 संवाददाता    २०७९, १७ कार्तिक बिहीबार ०८:३१     86 जनाले पढ़िसके



Spread the love

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा युभेन्टसलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा युभेन्टसविरुद्ध उसैको मैदानमा पीएसजीले २–१ को जित निकालेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गरे । युभेन्टसका लियोनार्दो बोनुकीले गोल फर्काए । खेलको १३औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए ।

तर, खेलको ३९औँ मिनेटमा लियोनार्दो बोनुकीले गोल गरेपछि युभेन्टसले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको थियो । खेलको ६९औँ मिनेटमा नुनो मेन्डेसले गोल गरेपछि पीएसजीले २–१ को जित निकालेको हो ।

समूह ‘ए’ कै अर्को खेलमा बेन्फिकाले माक्काबी हाइफालाई ६–१ गोलले पराजित गरेको छ । यो जितसँगै बेन्फिाका यो समूहको विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको बेन्फिकाको ६ खेलबाट १४ छ । समान खेलबाट १४ अंक नै बनाएको पीएसजी उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा पुगेको हो । पराजित युभेन्टसको तीन अंक हुँदा समूहको पुछारमा रहेको माक्काबी हाइफाको पनि तीन अंक नै छ ।

त्यस्तै, समूह ‘इ’ बाट चेल्सी विजेता र एसी मिलान उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको आफ्नो अन्तिम खेलमा चेल्सीले डाइनामो जाग्रेबलाई २–१ ले पराजित गरेको हो ।

यता, एसी मिलानले आरबी साल्जबर्गलाई ४–० ले पराजित गर्न सफल भयो । चेल्सी ६ खेलबाट १३ अंक बनाएर समूह विजेता बन्दा मिलान समान खेलबाट १० अंक बनाउँदै उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

आरबी साल्जबर्गको ६ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहँदा डाइनामो जाग्रेब भने समान खेलबाट चार अंकसहित समूहको पुछारमा रह्यो ।