प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको खराब प्रदर्शन तेस्रो खेलसम्म पुगेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमती लुम्बिनी प्रदेशसँग आठ विकेटले पराजित भयो । हारसँगै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा प्रदेश १सँग बागमती स्तब्ध भएको थियो । समूह ‘बी’मा बागमतीले तीन खेलबाट अंक तालिकामा खाता खोल्न सकेको छैन । लुम्बिनी दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा रहेको छ ।