टि – ट्वान्टी विश्वकप : अन्तिम ओभरको रोमाञ्चक खेलमा भारतले निकाल्यो पाकिस्तान विरुद्द सफलता

 संवाददाता    २०७९, ७ कार्तिक सोमबार १२:४०     96 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — विराट कोहलीले ८२ रन बनाएपछि भारतले ट्वान्टी–२० विश्वकपमा आइतबार पाकिस्तानलाई अन्तिम बलमा हराएको छ । सन् २००७ यता पहिलो उपाधि जित्ने अभियानमा रहेको भारतले मेलबर्न क्रिकेट मैदानमा उपस्थित ९० हजार समर्थकसामु चार विकेटको जित हात पारेको हो । विश्व नम्बर एक भारतले पहिले ब्याटिङ गरेको पाकिस्तानलाई ९ विकेट गुमाएर १ सय ५९ रनमा रोकेको थियो ।

भारतको यो जितको नायक कोहली नै रहे । सुरुआती १० ओभरमा ४ विकेट गुमाएर ४५ रनमात्र बनाएको भारत त्यतिबेलासम्म कमजोर स्थितिमा थियो । तर कोहलीले ४० रन बनाएका हार्दिक पाण्ड्येसँग भारतलाई फेरि खेलमा फर्काए र शतकीय साझेदारी गरे । भारतलाई अन्तिम ओभरमा जितनिम्ति १६ रन आवश्यक थियो । त्यसमा मोहम्मद नवाजले वाइड र नो–बल फालेर भारतलाई जितसम्म पुग्न मदत गरे ।

प्रत्येक समूहबाट शीर्ष दुई टिममात्र सेमिफाइनल पुग्ने हुँदा दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स सम्मिलित समूहमा प्रत्येक जित उत्तिकै महत्त्वपूर्ण रहनेछ । सन् ९० को अन्त्ययता विश्वकपमा भारतले पाकिस्तानमाथि एकोहोरो जित निकालेको छ । तर पछिल्ला तीन खेलमध्ये दुईमा भारत पराजित थियो । त्यसमध्ये गत वर्षको विश्वकप र हालैको एसिया कप दुवैमा भारत पाकिस्तानको हातबाट पराजित भएको थियो । तर पछिल्लो समय भारत फेरि लयमा फर्केको छ ।टस हारेर पहिले ब्याटिङ लागि ओर्लेको पाकिस्तानको सुरुआत राम्रो रहेन । अर्शदीप सिंहको बलमा कप्तान बाबर आजम गोल्डेन डकको सिकार भए ।लगत्तै मोहम्मद रिजवान पनि ४ रन बनाएर भुवनेश्वर कुमारको बलमा आउट भए । पाकिस्तानी इनिङ्स मध्यभागमा पुग्दा २ विकेट गुमाएर ६० रनको स्थितिमा थियो । त्यसपछि पाकिस्तान खेलमा फर्केको हो । टोलीका लागि सन मसुदले अविजित ५२ र इफ्तिखर अहमदले ५१ रन बनाए । मोहम्मद सामीको बलमा अहमद एलबीडब्लू धरापमा परेपछि पाकिस्तानले फेरि लगातार विकेट गुमाएको थियो ।भारतको सुरुआत पनि राम्रो रहेन । केएल राहुल र रोहित शर्मा दुवै सस्तोमा आउट भए । सूर्यकुमार यादव ८ बलमात्र टिके । लगत्तै अक्षर पटेल पनि रनटआउट भए र भारत ४ विकेट गुमाएर ३१ रनको खराब स्थितिमा पुगेको थियो । कोहली र पाण्डेयले त्यसयता टिमको इनिङ्स सम्हाले । भारतलाई अन्तिम ५ ओभरमा ६० रन चाहिएको थियो । यस्तै अन्तिम ८ बलमा २८ रन चाहियो । यही बेला कोहलीले ह्यारिस रौफको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गरे । त्यसपछि भारत जितबाट १६ रनमात्र टाढा पुगेको थियो ।अन्तिम ओभर नाटकीय रह्यो । त्यसको एक नो–बलमा कोहलीले छक्का प्रहार गरे । त्यसमा प्राप्त फ्रि–हिटमा भारतले ३ रन बटुलेको थियो । जितनिम्ति २ रन चाहिएका बेला दिनेश कार्तिक स्टम्पिङ भए । लगत्तै फेरि अर्को बल वाइड रह्यो र खेल बराबरीको स्थितिमा पुग्यो । रविचन्द्रन अश्विनले अन्तिम बलमा विजयी रन बटुले । खेलपछि कोहलीले आफ्नो यस जितको प्रदर्शनलाई एक उत्कृष्ट ट्वान्टी–२० इनिङ्सको संज्ञा दिए ।