बेन्जेमालाई पहिलो पटक बलोन डी’ओर अवार्ड

 संवाददाता    २०७९, १ कार्तिक मंगलवार ०८:०६     97 जनाले पढ़िसके



Spread the love

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले विश्व प्रसिद्ध बलोन डी’ओर अवार्ड प्राप्त गरेका छन् । फ्रेन्च खेलाडी बेन्जेमाले पहिलाेपटक बलोन डी’ओरको अवार्ड हात पारेका हुन् ।

बेन्जेमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो । गत सिजन लिभरपुलमा रहेका सादियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना तेस्रो स्थानमा रहे ।

‘मैले निकै कठिन समय बिताए । मेरा लागि र परिवारका लागि यो मानसिक रुपमा निकै चुनौती थियो । तर मैले निरन्तर काम गरे । मैले कहिल्यै हार मानिन । जिदान र रोनाल्डो मेरा आदर्श हुन,’ बेन्जेमाले अवार्ड हात पारेपछि भने । महिलातर्फ याे अवार्ड स्पेनिस क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलसले हात पारेकी छन्। इंग्ल्याण्डलाई युरो कप जिताउन महत्त्वपूर्ण भुमिका निभाएकी आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

यासिन ट्रफी रियल मड्रिडका गाेलरक्षक थिबाउट काेर्टुवाले हात पारे । काेपा ट्रफी बार्सिलाेनाका गाभीले जिते । गर्ड मुलर ट्रफी गत सिजन जर्मन क्लब बायर्न म्युनिखमा रहेकाे राेबर्ट लेवान्डाेस्कीले हात पार्दा साेक्रोटिज प्राइज सादियाे मानेले हात पारे ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भयाे । गत वर्ष गरेको प्रर्दशनमा आधारमा बलोन डी´ओरको विजेता घोषणा गरिएकाे हाे ।