काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यससँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनल खेलमा अब भुटान र बंगलादेश तथा दोस्रो सेमिफाइनल खेल नेपाल र भारत बीच हुने भएको छ ।साफ महिला इतिहासमै भारतले पहिलो हार भोगेको छ । यस अघि भारतले बंगलादेशसँग २०१६ मा गोल रहित बराबर खेलेको थियो । यसअघिका प्रतियोगितामा उपाधि जितेको भारतले बंगलादेशसँग ३–० ले पराजित भएसँगै पहिलो हार भोगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको मंगलबारको खेलमा बंगलादेशले भारतविरुद्ध परिपक्व खेल देखाउन सफल भएको थियो । सुरुआतबाट नै आक्रामक खेलेको बंगलादेशले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप एक गोल गर्दै साविक विजेतामाथि रोमाञ्चक जित निकालेको हो । समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउने क्रममा बंगलादेशका लागि मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन भने श्रीमोती सरकारले एक गोल थपिन् ।
ऐतिहासिक जित निकालेको बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो । १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेशले पहिलो हाफमा २–० को अग्रता निकालेको थियो । पहिलो हाफको अग्रता सँगै उच्च मनोबलका साथ खेलेको बंगलादेशका लागि ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन । पछि परेको भारत खेलमा फर्किन निकै कोशिस गरे पनि सफल हुन सकेन । भारतले बनाएका केही अवसर बंगलादेशकी गोलकिपर र डिफेन्डरले विफल पारेका थिए । बाँकी समयमा थप गोल हुन सकेन र भारत पहिलो पटक साफ इतिहासमा नतिजा सुम्पिन बाध्य बन्यो ।
यस जितसँगै बंगलादेश अपराजित रहदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ए मा ३ खेलबाट ९ अंक बनाउँदै समूह विजेता बन्दा समान ३ खेल खेलेका भारतले ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । यस अघि समूह बीबाट नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।