नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ। नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो।
केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो। एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनाउन सक्यो।
नेपालको जितमा ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो। मल्लले ४४ बलमा ५९ रन बनाए। यस क्रममा उनले दुई छक्का र पाँच चौका प्रहार गरे। रोहितकुमार पौडेलले २५ बलमा सात चौका हिर्काउँदै ४७ रन बनाए। यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
बलिङतर्फ केन्याका लागि नेहेम्याह ओढियाम्बो, विराट पटेल र शेम एन्गोचेले दुई/दुई तथा लुकास ओलुओचले एक विकेट लिए।
ब्याटिङ गर्ने क्रममा केन्याका लागि नेहेम्याह ओढियाम्बोले ३७, कप्तान शेम एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलियन्स ओबुयाले २३ र नेलसन ओढियाम्बोले अविजित १३ रन बनाए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई÷दुई तथा करन केसी, मोहमद आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए। खेलको प्लेयर अफ दी म्याच नेपालका ज्ञानेन्द्र मल्ल तथा प्लेयर अफ दी सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए।
नेपालले अब केन्यासित तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। नेपाल र केन्याबीचको पहिलो एकदिवसीय खेल शुक्रबार खेल्ने तय भएको छ। फोटो : फाईल