काठमाडौं : साफ यू २० प्रतियोगिता अन्तर्गत आज हुने खेलमा नेपाल र भारत आमनेसामने हुँदैछन्। भारतको भुवनेश्वरमा जारी प्रतियोगितामा नेपाल र भारत आज साँझ ७:१५ बजे कालिंगा स्टेडियममा आमनेसामने हुनेछन्।
नेपालले यसअघि दुई खेल खेल्दा दुबैमा सहज जित निकालेको छ। पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलको जित निकालेको थियो। अर्कोतर्फ घरेलु टोली भारतले पहिलो खेलमा बंगलादेशसँग २-१ गोलको पराजयसँगै प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा श्रीलंकामाथि ४-० ले हराएको थियो।
लिगका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। यस्तोमा दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भारतसँगको खेलले अर्थ राख्नेछ। हालसम्मको खेलमा तीन खेल खेलेर बंगलादेश ९ अंक सहित शीर्षस्थानमा छ भने दुई खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। अर्कोतर्फ दुई खेलबाट एउटामात्र जित निकालेको भारतसँग ३ अंक छ। माल्दिभ्स र श्रीलंकाले हालसम्म जित निकाल्न सकेका छैनन्।