लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

 संवाददाता    २०७९, २१ बैशाख बुधबार ०९:१९     113 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा भिल्लारियललाई ३-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा भिल्ला रियलले २-० को अग्रता लिएर लिभरपुललाई दबाबमा राखेको भएपनि लिभरपुलले कमब्याक गर्दै दोस्रो हाफमा ३ गोल गरेको थियो । लिभरपुलले खेलको ६२औं, ६७औं र ७४औं मिनेटमा गोल गरेको थियो ।

लिभरपुलको जितमा फाबिन्हो, लुइस डियाज र साडियो मानेले एक एक गोल गरेका थिए ।

यसअघि भिल्ला रियलका लागि बोउलाए डिया र फ्रान्सिस कोक्वेनले एक एक गोल गरेका थिए ।

खेलमा खेलको ८५औ मिनेटमा एटीइन कापोउले रातो कार्ड पाएपछि भिल्लारियल १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै लिभरपुल १०औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

यसअघि ६ पटक उपाधि जितेको लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । त्यसअघि २०१८ मा फाइनलमा पुगेर पराजित भएको थियो ।