टोरेन्टो — क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ । उसले आइतबारको खेलमा जमैकालाई ४–० ले हरायो र यसै वर्ष कतारमा हुने विश्वकपको लागि टिकट काट्यो ।क्यानडाका लागि केयल लारिन, टाजोन बुचनन र जुनियर होलेटले गोल गरे । अर्को गोल एडरिन मारिपाको नाममा आत्मघाती रह्यो । कनकाकेफ क्षेत्रबाट जमैका यस अगाडि नै छनोट समीकरणबाट बाहिरिसकेको छ ।टोरन्टोको बीएमओ फिल्ड रंगशालामा टोरन्टको जित हेर्न ३० हजार दर्शकको उपस्थिति थियो र टिम विश्वकपमा छनोट भएपछि ब्यापक खुसीयाली मनाएको थियो । क्यानडाले सन् १९८६ को मेक्सिको विश्वकपमा पहिलो पटक र अहिलसम्म अन्तिम पटक खेलेको थियो ।