काठमाडौं । पपुवा न्यूगिनी (पीएनजी)सँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार दोस्रो एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो ।
नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।
एक दिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । यूएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।
उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । अब पीएनजीले नेपाल र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।