काठमाडौँ — पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपालले कमजोर सुरुवात गरेको छ । टस जितेपछि ब्याटिङमा आएको नेपालले १३ ओभरमा २ विकेट गुमाई ४३ रन बनाएको छ ।
कुशल भुर्तेल खेलको पहिलो बलमै आउट भएपछि नेपालको दुर्दशा सुरु भएको थियो । एलेइ नाओको बललाई रक्षात्मक हिसाबले खेल्ने क्रममा कुशलले क्याच दिन पुगेका थिए । नेपालविरुद्धको अघिल्लो खेलमा नखेलेका नाओले अर्का ओपनर अनिल शाहलाई १ रनमा विकेटकिपरबाट क्याच गराए ।
अघिल्लो साता पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार १८ खेलको पराजय टुंगाउने क्रममा यूएईमाथि ६ विकेटको विजय हात पार्दा नाओ ४ विकेट लिँदै प्लेयर अफ द म्याच बनेका थिए । उनले शनिबार नेपालविरुद्ध ५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर दुई विकेट लिइसकेका छन् ।
देव खनाल १४ र दीपेन्द्रसिंह ऐरी २३ रन बनाई खेलिरहेका छन् । अघिल्लो खेलमा डेब्यु गर्दा देव ६ बल खेली शून्यमा आउट भएका थिए । नेपाल शुक्रबार पहिलो खेलमा ६ रनले पराजित भएर दुई खेलको शृंखलामा पछाडि परिसकेको छ ।