चुनाव परिणामप्रति ओलीको प्रतिक्रिया, ‘पूर्वनिर्धारित नतिजा’

 संवाददाता    २०८३, २० जेष्ठ बुधबार १३:२४     14 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ को चुनावमा तमासा मात्रै भएको टिप्पणी गरेका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै यो परिणाम पूर्वनिर्धारित नै भएको दाबी गरे।

उनले भने, ‘हामीले चुनावमा भाग नलिने सही नीति लिएका थियौँ। तर अरू पार्टीले बुझ्न नसक्दा चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो। र यो परिणाम पूर्वनिर्धारित थियो। यही परिणामका लागि चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो। अरू पार्टीहरूले साँच्चै चुनाव हुँदै छ भन्ने ठाने। साँच्चैको चुनाव होइन।’

उनले चुनावी परिणामको विषय अनुसन्धान गर्नुपर्ने बताए।

ओलीले थपे, ‘चुनावमा प्रयोग गरिने मसी सधैँ यहाँ लगाएपछि त्यो नङ बढ्दै गएर नङ काटेर फाल्नुपर्थ्यो। यस पल्ट भक्तपुरमा नजिकै, नजिकै बुथबाट भोट हालेर रङ लगाएर गएको, घर पुग्दा अघि नै रङ उडिसक्या छ। ब्यालेट पेपरमा के भयो होला त्यो रङरु यी छानबिनका विषय हुन्, खोजीका विषय हुन्। भोलि पत्ता लाग्न सक्छ।’

उनले आफूहरू पहिलो पटक चुनाव लडेका नभएकाले सबै आकलन गर्नसक्ने बताए। उनले लगभग अधिकांश मतदाता चिनेको जिकिर गरे।

उनले भने, ‘अनि चिन्नै नचिनेको, उम्मेदवारी खारेज भएको मान्छेले डबल मत ल्याएर जित्ने खालको स्थिति अथवा डबल मत खारेज भएको उम्मेदवारको आउने स्थिति भनेको यो पूर्वनिर्धारित योजना अन्तर्गतको कुरा हो। जे होस्, यसमा अहिले नजाऔँ। तर हामीले यस परिणामलाई स्वीकारेर संसद्मा सहभागी भइरहेका छौँ, काम गरिरहेका छौँ। राष्ट्रियताको पक्षमा लडिरहेका छौँ, लोकतन्त्रको पक्षमा लडिरहेका छौँ, शान्ति सुव्यवस्था र विकास यी चिजहरूको पक्षमा लडिरहेका छौँ। तसर्थ हामीले परिणाम स्वीकारेका छौँ।’