राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीले पार्टी पार्टीभित्र देखिएको विवादप्रति आक्रोश व्यक्त गरेका छन्।
राप्रपा संसदीय दलको नेतासमेत रहेका शाहीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाप्रति लक्षित गर्दै आक्रोश व्यक्त गरेका हुन्।
राप्रपाका महामन्त्री राणालगायतले अध्यक्ष लिङ्देनको कारण पार्टी फुटाउने तयारी गरिरहेको चर्चा छ।
उनीहरूप्रति लक्षित गर्दै शाहीले फेसबुकमा लेखेका छन्, ‘तिमीहरूको डीएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन?’
यतिखेरको समय एकअर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने नभएर जुट्ने बेला भएकोमा पनि जोड दिएका छन्। ‘तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्ने? एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिन लिनुपर्ने। पदका लागि यति धेरै हानाथाप र अहंकार किन?’ शाहीको प्रश्न छ।
‘तिमीहरूको यो व्यवहारले संगठन मात्र होइन, कार्यकर्ताको मनोबल र युवाहरूको भरोसा पनि टुटिरहेको छ। नेतृत्व भनेको पदमा टाँसिएर बस्ने होइन, आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता हो,’ शाहीले भनेका छन्, ‘एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्। अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन। यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु तपईँहरु सँग हामी तीनजना सँगै बसौँ। छलफल गरौं यो नाटक किन गरिरहेका छौ आफैले आफैलाई भलादमी देखाउन। तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसक्य होलान्।’
