नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रविरुद्ध भएको दाबी गरेका छन्।
बिहीबार रुकुमपश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।
‘बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ उनले भने, यस्तो गल्ती नगर्न हामीले सरकारलाई सावधान पनि गराएका छौँ।’
अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुगिसकेकाले अब उनको निर्णय हेर्न बाँकी रहेको पनि प्रचण्डले बताए।
‘लोकतान्त्रिक तरिकाले अध्यादेश ल्याउने नै सकिँदैन भन्ने कुरा होइन, अध्यादेशको विशेष अवस्थामा आवश्यकता पर्छ। तर, आफैँले बोलाइसकेको सदन बैठकै नबसीकन त्यसलाई स्थगित गरेर अध्यादेश ल्याउने विधि गलत छ’, उनले भने, ‘संवैधानिक परिषद्मा आफ्नो पक्षमा मान्छे पार्ने उद्देश्यले ल्याइएको छ।’
यसैबिच सरकारले पेस गरेका अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपति पौडेलले आज कानुनविद्हरूसँग छलफल गर्दै छन्।
यसका लागि राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे कानुनविद्हरूलाई राष्ट्रपति निवास बोलाएका छन्।
छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
बालेन शाह नेतृत्वको सरकारले ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।
अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग सल्लाह लिन लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
सरकारले अध्यादेशमार्फत ४० भन्दा धेरै कानुन संशोधनको तयारी गरेको छ।