अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक, आर्थिक प्राथमिकता तथा दुई देशीय सम्बन्ध केन्द्रित भ्रमण पूरा गरी वासिङ्टन डिसी फर्किंदै छन्।
काठमाडौंमा रहँदा उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका उनले सूचना प्रविधि (आइटी) व्यवसायीसँग अन्तरक्रिया गरेका थिए।
कपुरले प्रधानमन्त्री बालेन शाहसँग भने भेटवार्ता गरेनन्। यसअघि अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्रीसँग पनि भेटवार्ता हुने गरेको थियो।
‘सेलेक्ट–युएस’ लगानी सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधमण्डलसँग समेत छलफल गरेका उनले अर्थमन्त्री डा. वाग्लेसँग लगानी र व्यापारसम्बन्धी विस्तृत कुराकानी गरे।
नेपाल–अमेरिका सम्बन्ध प्रगाढ बनाउन भ्रमण सार्थक रहेको भन्दै अमेरिकी दूतावासले कपुरको नेपाल भ्रमण फलदायी भएको जनाएको छ। ‘नेपालको उदयीमान र गतिशील प्रविधि क्षेत्रमा थप सहकार्यका सम्भावना खोजी गर्न कपुरले अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदाहरुलाई एक ठाउँमा ल्याएका छन्’, दूतावासले भनेको छ।
काठमाडौं रहँदा उनले बौद्धनाथ, पाटन दरबारक्षेत्र भ्रमण गरेका थिए। ती स्थानका सम्पदा संरक्षणमा अमेरिकाले सघाउँदै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएका थिए।उनको ठाउँमा कपुरलाई नियुक्त गरेका थिए। भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशिया मामिलाको धरातलीय यथार्थ राम्रोसँग बुझ्ने, विश्लेषण गर्ने क्षमता राख्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन्।
बालेन शाह नेतृत्वमा सरकार गठनपछि नेपाल अएका उनी नै वरिष्ठ अमेरिकी अधिकारी हुन्।