सुर्खेतमा अविरल वर्षा : पहिरोले अवरुद्ध रत्न राजमार्गमा खुल्यो, एक घर भत्कियो

 संवाददाता    २०८२, २१ श्रावण मंगलवार ११:०५     137 जनाले पढ़िसके



Spread the love

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सुर्खेतमा जनजीवन प्रभावित बनेको छ ।

‎वर्षाले पहिरो जाँदा कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध भएको थियो । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ६ बजे भेरीगंगा नगरपालिका-२, पैसठ्ठी भन्ने स्थानमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा रत्न राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो ।

‎‎पहिरोको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक प्रेम बहादुर गुरुङको कमान्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले जेसीबीको सहायताले पहिरो पन्छाउने काम सुरु गरेको थियो ।

‎‎अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक माेहनजंग बुढ्थापाले बताए।

‎‎यसै गरी, अविरल वर्षाकै कारण गुर्भाकोट नगरपालिका-१, काल्चे घुमाउनेमा एक घर भत्किएको छ । आज बिहान ८:४५ बजे स्थानीय ३२ वर्षीया दालमाया बुढाको तीन तले कच्ची घरको पूर्वपट्टिको भित्ता भत्किएको हो ।

‎ ढुंगा र माटोले बनेको जस्तापाताले छाएको उक्त पाँच कोठे घर भत्किँदा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको बुढ्थापाले बताए।

‎घरमा श्रीमान्, श्रीमती र एक छोरा, एक छोरी गरी चार जनाको परिवार बस्दै आएको थियो । घटनापछि उनीहरू सुरक्षित रूपमा माइतीघरमा आश्रय लिएर बसेका छन् ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मालारानीबाट खटिएको प्रहरी टोलीले परिवारको उद्धारमा सहयोग गरेको थियो ।