राहदानी सेवा सहज बनाउन हल्करा परिचालनका लागि तालिम

 संवाददाता    २०८३, ४ बैशाख शुक्रबार १६:०६     9 जनाले पढ़िसके



Spread the love

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउन लक्ष्यसहित म्याग्दी जिल्ला हुलाक कार्यालयले जिल्लाभरि कार्यरत हल्करालाई तालिम दिएको छ। राहदानीसहित महत्वपूर्ण सरकारी कागजात सिधै जनताको घरदैलोमा पुर्‍याउने उद्देश्यसहित बालेन सरकारले काम गरिरहेको हो।

यसको सुरूवातमा म्याग्दी र सिराहा जिल्लाबाट भइरहेको छ। यही क्रममा म्याग्दी जिल्ला हुलाकले नयाँ सेवा कसरी प्रदान गर्ने ? भनेर जनताको गाउँ, घर पुग्ने हल्कारालाई तालिम दिएको हो।

जनताको घरदैलोमा पुग्ने राहदानी लगायतका सरकारी कागजात बनाउन जिल्ला प्रशासन कार्यालय मुख्य अड्डा हो। ती कागजातलाई घरघरमा पुर्‍याउन हुलाक सेवाको काम आउँछ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने काम एउटा छ। राहदानीलगायत महत्वपूर्ण सरकारी कागजात घरमै पुर्‍याउन हल्कराको भूमिका र क्षमता अभिवृद्धिका लागि उनीहरूलाई उत्प्रेरित गर्न तालिम दिइएको म्याग्दी जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिए।

देशभर हुलाकको १७ हजारभन्दा बढी जनशक्ति छ। ७७ जिल्ला, ७५३ स्थानीय तह र ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालयहरूको सञ्जाल छ। अहिले सरकारले यही संयन्त्रलाई ब्युँझाउन खोजिरहेको हो। यही क्रममा म्याग्दीमा तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा जिल्ला तथा पालिका हुलाक कार्यालयअन्तर्गत कार्यरत हल्करालाई कार्यालय प्रमुख थापा तथा शाखा प्रमुखहरूले सेवाको गुणस्तर, समय व्यवस्थापन र जिम्मेवारीबारे अभिमुखीकरण गरेका छन्।