इजरायली सेनाले आइतबार दक्षिणी लेबननका सहर र गाउँका बासिन्दालाई तुरुन्त घर खाली गर्न र कम्तीमा हजार मिटर टाढा खुला क्षेत्रमा सर्न उर्दी जारी गरेको छ।
रोयटर्सका अनुसार, सेनाले दक्षिणी लेबननका ११ सहर र गाउँमा आक्रमण गर्ने बताएको छ।
बेलायती पत्रिका द इन्डिपेन्डेन्टका अनुसार इजरायली सेनाले यो हमला हेजबुल्लाहविरुद्ध गर्न लागिएको दाबी गरेको छ।
हेलबुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप इजरायली सेनाले लगाएको छ।
चेतावनी दिँदै उसले भनेको छ, ‘हेजबुल्लाह लडाकु वा तिनका स्थाननजिक भेटिने जो कोही खतरामा पर्न सक्छ।’
इजरायलले दक्षिणी लेबननमा बारम्बार हवाई आक्रमण गरिरहेको छ।
इजरायली सेनाले लेबननको दक्षिणी भागमा भूमि कब्जा गरेका छन्।
हेजबुल्लाहका संरचना भनिएका धेरैवटा भवन ध्वस्त पारिएको इजरायलले जनाएको छ।
इरान-समर्थित सशस्त्र समूह हेजबुल्लाहले पनि उत्तरी इजरायलमा इजरायली सेनाविरुद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ।