पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण यतिबेला (आइतबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली तथा बाँकी हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ। मधेस तथा कोसी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसोकोसी प्रदेशसहित देशका पहाडी र हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ।

यस्तै रातिदेशका हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यसैबिच आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको छ।
‘अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लागिरहेको छ’, मौसम महाशाखाका माौसमविद् हरिप्रसाद दाहालले भने, ‘दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।’
