काठमाडौं, । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत आज इंग्ल्यान्ड र घरेलु टोली भारतबीच खेल हुँदै छ । लखनउस्थित एकना क्रिकेट रङ्गशालामा खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।
आफ्नो सेमिफाइनल सम्भावना जीवितै राख्न इंग्ल्यान्डलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ । आजको खेलमा पराजित भएमा इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिने छ ।
इंग्ल्यान्ड ५ खेलमा १ जीत र ४ हार सहित २ अंक जोडेर अंकतालिकाको पुछारमा रहेको छ । इंग्ल्यान्डले अब भारतसँग खेलेपछि अस्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ ।
उता भारत भने प्रतियोगितामा एक्लो अपराजित टोलीका रुपमा रहेको छ र सेमिफाइनलमा पुग्ने लगभग पक्का भइसकेको छ । भारतले खेलेका पाँचमध्ये पाँच नै खेल जितेको छ र १० अंकसहित दोस्रो स्थानमा छ ।