विश्वकप क्रिकेट आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा विश्व च्याम्पियन इंग्ल्याण्ड र उपविजेता न्युजिल्याण्डबीचको अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने खेलबाट हुनेछ । राउण्ड रोबिन चरणमा ४५ खेल हुनेछन् भने तीन खेल नकआउट चरणमा हुनेछन् । अर्थात् जम्मा ४८ खेल हुनेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर १९ मा हुनेछ । यो एकदिवसीय विश्वकपको १३ औं संस्करण हो। विश्वकप क्रिकेटको उद्घाटन खेल दिउँसो सवा २ बजे सुरुहुने छ ।
पछिल्लो एकदिवसीय विश्वकपमा जस्तै यस पटक पनि १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक भारतसँगै साविक विजेता इंग्ल्यान्ड, उपविजेता न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्सले पनि प्रतिस्पर्धा गर्नेछन् । श्रीलंका र नेदरल्याण्ड्स छनोट चरण पार गरेर अन्तिम १० मा प्रवेश गरेका छन् । दुई पटकको विश्व च्याम्पियन टोली वेस्ट इन्डिज पहिलो पटक छनोट हुन सकेन । २०१९ को विश्वकप जस्तै, सबै १० टोली राउन्ड रोबिन ढाँचामा एक अर्काको सामना गर्नेछन्। एक टोलीले राउण्ड रोबिन ढाँचामा कुल नौ खेल खेल्नेछ। अर्थात् लिग चरणमा जम्मा ४५ खेल हुनेछन् । यसपछि दुई सेमिफाइनल र एक फाइनल खेल हुनेछन् । लिग राउण्डका ४५ खेलमध्ये ३९ खेल डे–नाइट हुनेछन् भने ६ खेल डे हुनेछन् ।
प्रतियोगिताका ४८ खेल भारतका १० सहरमा हुनेछन् । तीन खेल हैदरावादमा खेलाइनेछ भने बाँकी नौ सहर अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बैंगलोर, मुम्बई र कोलकातामा पाँच-पाँच खेल हुनेछन्। हैदरावाद, तिरुवनन्तपुरम र गुवाहाटीलाई वार्मअप खेलका लागि स्थानको रूपमा छनोट गरिएको थियो।
पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच अक्टोबर ५ (बिहीबार) अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । लिग चरणका ४५ खेल नोभेम्बर १२ सम्म हुनेछन् । भारत र नेदरल्याण्ड्सबीचको अन्तिम लिग खेल बैंगलोरमा हुनेछ ।
पहिलो सेमिफाइनल नोभेम्बर १५ मा मुम्बईमा र दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा कोलकातामा हुनेछ । यदि भारतीय टोली सेमिफाइनलमा पुग्यो भने उसले मुम्बईमा खेल्नेछ। योसँगै पाकिस्तानी टोली सेमिफाइनलमा पुग्न सफल भएमा उसले कोलकातामा खेल्नेछ । सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने हो भने टीम इन्डियाले कोलकातामा मात्र खेल्नुपर्नेछ । आईसीसीले तालिका सार्वजनिक गर्दा यो नियम तय गरेको हो ।