लुलाद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि ‘वार्ता’ गर्न आग्रह

 #अन्तरास्ट्रिय     ३ आश्विन २०८०, बुधबार ०७:३४     55 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गरेका छन् ।

उनले ‘वार्तामा आधारित नभए कुनै पनि समाधान स्थायी हुन नसक्ने’ बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै लुलाले भने, “वार्ताका लागि ठाउँ सिर्जना गर्न काम गर्नुपर्छ भनेर मैले दोहोर्‍याएको छु ।”

उनले थपे, “हतियारमा धेरै लगानी गरिएको छ र विकासमा निकै कम लगानी गरिएको छ ।”

युक्रेनमाथि रूसको आक्रमणलाई लिएर रूसप्रति नरम भएको आरोप खेपिरहेका लुलाले महासभाको साइडलाइनमा आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नेछन् ।

जेलेन्स्कीले यसअघि गत मे महिनामा जापानमा भएको जी–७ शिखर सम्मेलनमा लुलासँग भेटवार्ता गर्न चाहेका थिए।

जेलेन्स्की र लुलाबीच सम्बन्ध तनावपूर्ण छ । उनले युक्रेनमा युद्ध हुनुमा ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै केही हदसम्म जेलेन्स्की पनि जिम्मेवार’ रहेको बताउँदै आएका छन् । उनले रूसमाथि प्रतिबन्ध लगाउन वा युक्रेनलाई हतियार आपूर्ति गर्न पश्चिमा राष्ट्रहरूसँग सामेल हुन अस्वीकार गरेका छन् ।

लुलाले चीन, भारत र इन्डोनेसियालगायत अन्य ‘तटस्थ’ मुलुकसँग मिलेर ब्राजिललाई द्वन्द्वमा सम्भावित मध्यस्थकर्ताका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् ।