भारत आठौँपटक एसिया कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा भारतले आयोजक श्रीलंकामाथि १० विकेटको सानदार जित निकाली आठौँपटक च्याम्पियनको ट्रफी उचालेको हो । वर्षाका कारण आधा घन्टापछि सुरु भएको फाइनलमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले एसिया कपकै कमजोर ब्याटिङ प्रदर्शन गर्यो । श्रीलंका केवल १५.२ ओभरमा ५० रनमा समेटियो । प्रत्युत्तरमा भारतले ६.१ ओभरमा विनाक्षति ५१ रन जोड्दै उपाधि हात पार्यो । भारतका लागि ओपनर इसन किसनले १८ बलमा २३ रन र शुभमन गिलले २७ रनको योगदान दिए ।
इसनले १८ बलमा तीन चौका र शुभमनले १९ बलमा ६ चौका प्रहार गरेका थिए । भारतको जितमा फास्ट बलर मोहमद सिराजले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले सात ओभरमा २१ रन खर्चेर श्रीलंकाका सर्वाधिक ६ विकेट लिए । यसैगरी, हार्दिक पाण्ड्याले २.२ ओभरमा तीन रन दिँदै तीन विकेट लिए । भारतले सन् १९८४, १९८८, १९९०, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
भारतविरुद्ध ५८ रन मात्र बनाएको थियो । एकदिवसीय इतिहासमा जिम्बावे सबैभन्दा कम योगफलमा अलआउट भएको छ । सन् २००४ मा जिम्बावे श्रीलंकाविरुद्ध ३५ रनमा समेटिएको थियो ।
कुलदीप सर्वोत्कृष्ट खेलाडी
भारतीय स्पिनर कुलदीप यादव एसिया कप २०२३ कै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई आठौँपटक च्याम्पियन बनाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा ९ विकेट लिए । उनी नेपालविरुद्धको खेलमा विकेटविहीन बने । नेपालसँगको खेलमा उनले १० ओभरमा दुई मेडनसहित ३४ रन खर्चिए । सुपर फोरमा पाकिस्तानमाथि दुई सय २८ रनले भारतले हराउँदा उनले पाँच विकेट लिएका थिए । उनले श्रीलंकाविरुद्ध ४ विकेट लिएका थिए ।
पहिलोपटक सहभागी नेपाल
एसिया कपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । नेपालले प्रतियोगिताको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्यो । यद्यपि, पहिलोपटकको सहभागितामै नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेको थियो ।
उद्घाटन खेलमा पाकिस्तान तत्काल आइसिसी एकदिवसीय वरीयताको शीर्ष टोली थियो । सुपर फोरबाट बाहिरिँदा पाकिस्तान तेस्रो स्थानमा झरेको छ । नेपालविरुद्ध पाकिस्तानले ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपाल २३.४ ओभरमा एक सय चार रनमा समेटियो । पाकिस्तानविरुद्ध नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले एक विकेट लिए ।
दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो ब्याटिङ गर्यो । दुईपटकको एकदिवसीय तथा एकपटकको टी–२० विश्वकप विजेता भारतसँगको खेलमा नेपालका ओपनर आसिफ शेखले ५८ रनको अर्धशकीय इनिङ्स खेलेका थिए । ओपनर कुशल भुर्तेल र शेखबीच पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी भएको थियो । यसैगरी, सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन जोडे । नेपाल ४८.२ ओभरमा दुई सय ३० रनमा समेटियो । वर्षाले प्रभावित बनाएको खेलमा भारतले २३ ओभरमा एक सय ४५ रनको लक्ष्य पायो । भारतले २०.१ ओभरमा एक विकेट पनि नगुमाएर जित निकाल्यो । प्रतियोगितामा नेपाल र बंगलादेशले मात्र भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए ।