महिला विश्वकप १५ श्रावण २०८०, सोमबार १२:३४ 59 जनाले पढ़िसके
Spread the love
वलिंटन । सह-आयोजक न्यूजिल्याण्ड फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा स्विट्जरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएसँगै न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिएको हो ।
न्यूजिल्याण्डमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका मौकाहरु सदुपयोग गर्न सकेनन् । यस बराबरीले स्वीट्जरल्यान्ड समूह ‘ए’ मा अपराजित र शीर्षस्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । अपराजित स्विट्जरल्याण्डले समूह चरणमा तीन खेलबाट पाँच अंक बटुल्यो । न्यूजिल्याण्ड चार अंक जोडेर तेस्रो स्थानमा रहँदै बाहिरियो ।
समान चार अंक नै रहे पनि नर्वे गोल अन्तरमा अघि रहँदै समूह उपविजेता बनेर अघि बढेको छ । समूह ‘ए’ को अर्काे खेलमा नर्वेले फिलिपिन्समाथि छ-शून्य को सानदार जित हात पार्यो । नर्वे समूह उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
नर्वेको जितमा सोफी हाउगले हृयाट्रिक पूरा गर्दा क्यारोलिन ग्राहम हान्सेन र गुरो रेइटेनले एक एक गोल थपे । यस्तै एक गोल नर्वेले आत्मघाती उपहार पाएको थियो । यस जितले नर्वेले तीन खेलबाट चार अंक बटुल्यो । समान चार अंक नै रहे पनि नर्वे न्यूजिल्याण्डभन्दा अघि रहृयो । पहिलोपल्ट विश्वकप खेलिरहेको फिलिपिन्स तीन अंक जोडेर पुछारमा रहृयो ।
यस्तै, मोरक्कोले समूह ‘एच’मा दक्षिण कोरियालाई एक-शून्यले स्तब्ध पार्यो। मोरक्कोका लागि इबाटिस्म जराडीले छैटौं मिनेटमा हेडर गोल गरिन। दक्षिण कोरिया भने लगातार दोस्रो खेलमा पराजित रहृयो ।
त्यसबाहेक फ्रान्सले ब्राजिलमाथि दुई-एक को महत्वपूर्ण जित हात पार्यो । फ्रान्सको जितमा युजेनीले सोमर र वेन्डी रेनार्डले एक एक गोल गरे । ब्राजिलकी डेविन्हाले एक गोल फर्काइन । खेलको १७औं मिनेटमा युजेनीको गोलबाट फ्रान्सले अग्रता लियो । ५८औं मिनेटमा डेविन्हाले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याइन । त्यसपछि ८३औं मिनेटमा वेन्डी रेनार्डले गोल गर्दै फ्रान्सलाई जित दिलाइन ।
विश्वकपमा फ्रान्सको यो पहिलो जित तथा ब्राजिलको पहिलो हार हो । फ्रान्स पहिलो खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिँदा ब्राजिलले पानामामाथि चार-शून्यको फराकिलो जित निकालेको थियो । यस जितसँगै अपराजित रहेको फ्रान्स दुई खेलबाट चार अंक जोडेर समह ‘एफ’ मा शीर्षस्थानमा उक्लिएको छ । पराजित ब्राजिल समान खेलबाटै तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेका जमैका र पानामाको समान एक अंक छ । एजेन्सी ।