काठमाडौं, सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका प्राथमिकता कार्यान्वयनमा सहजीकरणका गर्न राजनीतिक संयन्त्र बनाएका छन । पार्टी पदाधिकारी र मन्त्रीहरू संलग्न रहेको दुई दलीय संयन्त्रको नेतृत्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सदस्य छन ।
संघीय संयन्त्रको सदस्य तोकेर मंगलबार नै पहिलो बैठक बसे पनि त्यसको औपचारिक जानकारी सत्तारूढ दलले बुधबार मात्र सार्वजनिक गरेका हुन । संयन्त्रको पहिलो बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणले प्रवेश पाएको थियो ।