महोत्तरीमा वडाध्यक्ष यादवको हत्याको आरोपमा २ जना पक्रउ

 संवाददाता    १० आश्विन २०८१, बिहीबार १५:०७     45 जनाले पढ़िसके



Spread the love

महोत्तरी । महोत्तरीको रामगोपालपुर वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले औरही नगरपालिका–७ भोइल टिमकियाका संजिव कुमार झा र दिलिप मण्डललाई पक्राउ गरेको छ ।

वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न उनीहरु माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएको छ ।

यादवको हत्या भएको हो वा दुर्घटनामा मृत्यु भन्ने विषयमा प्रहरी प्रशासन, आफन्त र जनप्रतिनिधि बीच मतभेद छ । परिवार र जनप्रतिनिधिहरुले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन् ।

वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ । यादवको शव भदौ ९ गते बर्दिबास–औरही सडकखण्डको कल्भर्टमुनि फेला परेको थियो । आफन्तले भने आर्थिक लेनदेनका कारण यादवको हत्या नै भएको जिकिर गर्दै आएका छन् ।

माओवादी केन्द्रले पनि घटना रहस्यमय भएको भन्दै छानविनका लागि ध्यानाकर्षण गराइसकेको छ ।