बागलुङ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । उनले अवसर नपाएकालाई अवसर दिने र नीति सिद्दान्तमा रहेर काम गरेकालाई सम्मान गर्ने बताए ।
सोमबार कांग्रेसको दोश्रो पर्वत जिल्ला सम्मेलनमा सभापति देउवाले एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताए ।
‘एकले अर्काको खुट्टा तानेर सफल भईदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले भने, ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं ।’ समानुपातिक र समावेशी सिद्दान्तका कारण एकैदलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए ।
सभापति देउवाले राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले बिरोध गर्नु नपर्ने बताए । ‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उनले भने, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’