काठमाडौं । कैलालीको धनगढीमा शनिबार बिहान भएको भीषण आगलागीबाट १३ करोड बराबरको क्षति भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढीको मुख्य बजारमै आज बिहान १ बजेतिर आगलागी हुँदा धनमालको ठूलो क्षति भएको हो ।
आगलागीबाट बजारमा रहेको सारथी अस्पताल र त्यससँग जोडिएका आडवटा सटरमा क्षति पुगेको छ । भण्डारी सुज सेन्टरको गोदामबाट सल्किएको आगो अरु पसलका गोदाम हुँदै सँगै जोडिएको सारथी अस्पतालसम्म पुगेको थियो । आगलागिबाट सारथी अस्पताल पूरै जलेको छ । स्वास्थ्य उपकरणहरु, अस्पतालको फर्निचर, फार्मेसीमा राखिएका औषधी र अरु उपकरणहरु जलेका हुन् ।
अस्पतालको आईसीयु र अरु जनरल वार्डमा रहेका ५ जना बिरामीलाई भने आगलागी भएपनि नजिकै रहेको सेती प्रादेशीक अस्पतालमा सारिएको छ ।