आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्न अदालतको आदेश

 #अपराध     २३ कार्तिक २०८०, बिहीबार ०७:२८     54 जनाले पढ़िसके



Spread the love

काठमाडौं। इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित अफताब आलमका वकिल र अदालतले सरकारी वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको छ ।

जिल्ला अदालत रौतहटले यो मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको हो ।

रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका मोहम्मद आफ्ताब आलम मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ ।

आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।

संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरुलाई इँट्टा भट्टामा जलाएको आरोप उनीमाथि छ ।

यो मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो । बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेश गर्न जिल्ला अदालत प्रशासनलाई आदेश दिएको छ ।

उनीसहित ११ जना प्रतिवादी रहेको मुद्दाको मिसिल अदालतमा खोलिएको हो । जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार आलम विरुद्धको मुद्दामा सरकारी वकिल र आलम पक्षको बहस मंगलबार सकिएको छ ।

यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीनवटा मुद्दा चलाइएको थियो । पूर्वमन्त्री आलम चार वर्षदेखि पुर्पक्षका लागि नख्खु करागारमा छन् । पूर्वमन्त्री आलमका भाइ महताब आलम पनि पुर्पक्षका लागि रौतहट कारागारमा छन् । फोटो : फाइल