काठमाडौं । पछिल्लो समय अस्थिर बनेको कोशी प्रदेशको सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)को हातमा पुग्ने सम्भावना बढेको देखिएको छ । सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्व दाबी गरेको माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ मुख्यमन्त्री बन्ने सम्भावना प्रवल देखिएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशका सांसद मध्येबाट बहुमत पुर्यानसक्ने मत सहित मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकिने लाग्दा माओवादीको नेतृत्वमा सरकार बनाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सकारात्मक भएसँगै कोशीमा मौसम मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि पार्टी सके आफ्नै नेतृत्वमा र नसके गठबन्धन भित्रैबाट प्रदेशको सरकार बनाउने बारेमा छलफल चलिरहेको बताएका छन् । कांग्रेसको नेतृत्वमा सम्भव नभए माओवादीकै नेतृत्वमा सरकार बन्ने विश्वकर्माको स्पष्ट संकेत छ ।
मंगलबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच भएको वार्ता पनि सकारात्मक रहेको श्रोतको भनाइ छ । राप्रपाले शुक्रबार बिहान ८ बजे बस्ने पदाधिकारी बैठकबाट मात्रै कोशी सरकारबारे निर्णय लिने तयारी गरेको छ ।
९३ सदस्यीय प्रदेशसभामा विपक्षी एमालेका कार्यवाहक सभामुखसहित ४० सांसद रहेका छन् भने सत्ता गठबन्धनको नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद छन् । त्यस्तै राप्रपाका ६ जना सांसद रहेका छन् ।
सत्ता गठबन्धनलाई राप्रपाले साथ दिएमा मौसम ५३ सांसदसहित बहुमतको सरकारको मुख्यमन्त्री बन्नेछन् ।