बझाङ — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ आइपुगेका छन् ।
उनले भूकम्पग्रस्त जिल्लाका विभिन्न पालिकाको स्थलगत अवलोकन र पीडितहरुसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहले भूकम्पबाट बढी क्षति भएको जयपृथ्वी नगरपालिका, केदारस्युँ र थलारा गाउँपालिकाको स्थलगत भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले क्षतिग्रस्त व्यक्तिका घर, स्वास्थ्य संस्थाका भवन र विद्यालयहरुको निरीक्षण गरेका थिए । उनले निरीक्षणका क्रममा केही संरचना पूर्णरुपमा क्षतिग्रस्त भएको र केही घरहररु पूर्ण क्षति नभए पनि बस्न नसक्ने अवस्थामा रहेको पाइएको बताए ।
भूकम्पको प्रभाव जिल्लाका सबै पालिकामा परेको बताउँदै उनले प्रदेश सरकारले राहत वितरण सुरु गरिसकेको जानकारी दिए । ‘पहिलो कुरा भूकम्प पीडितले खाना नपाएर भोको बस्नु नपरोस् भनेर हामीले समस्यामा परेकालाई जिल्ला प्रशासन कार्यालयमार्फत खाद्यान्न उपलब्ध गराउने कुराको सुनिश्चित गर्दै छौं,’ उनले भने, ‘भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाको लागि पनि प्रदेश सरकारले प्रदेशसँग भएका र निजी क्षेत्रको प्राविधिक खटाएर यर्थाथ तथ्यांक संकलन गर्ने काम सुरु गरिसकेको छ । विपद्मा परेका जनताको राहत र पुनर्स्थापनाको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ उनले पहिलो चरणमा राहत वितरण र लगत्तै पुनर्स्थापनाको प्याकेज प्रदेश सरकारले ल्याउने बताए ।