‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

 #अपराध     १८ आश्विन २०८०, बिहीबार १३:४६     47 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।

नेपालगन्जको धम्बोजी चोकमा रिगलले खुँडा प्रहार गरी हत्या गरेका चेतनकी श्रीमती भारती मानन्धरले कैद मिनाहाको निर्णयविरुद्ध असोज १४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते रिगलसहित ६७० जनाको कैद मिनाहा दिने निर्णय गरेको थियो। संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिनाहा गरेका हुन्। त्यसविरुद्ध भारतीले रिट दायर गरेकी हुन्।

भारतीले रिटमा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर हुनुपर्ने माग गरेकी छन्। उक्त रिटमा यसअघि दुईपटक पेसी सारिएको थियो। भारतीको रिट शर्माको इजलासमा आज १६औँ नम्बर (त) मा परेको छ।

०७२ असार २८ गते रिगलले खुँडा प्रहार गर्दा चेतनको मृत्यु भएको थियो। सरकारले पुरानो मुलुकी ऐनानुसार ४० प्रतिशत कैद भुक्तान गरेकालाई मिनाहा दिने व्यवस्था टेकेर रिगललाई उन्मुक्ति दिएको थियो। कैद मिनाहा भएसँगै रिगललाई लिन गाडीको लावालस्करसहित पुगेको, सार्वजनिक कार्यक्रममा रिगलले सम्बोधन गरेको लगायत गतिविधि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो।

जेल जानुअघि रिगल नेपाली कांग्रेसनिकट तरुण दलका क्षेत्रीय अध्यक्ष थिए।