यादव रिपोर्टर्स क्लबको कार्यक्रमका लागि भृकुटीमण्डप गएका थिए। सहमहामन्त्री यादवले रिपोर्टर्स क्लबमा करिब १७ मिनेट बोलेका थिए।
यादवले चिनियाँ राजदूत छन सोङले नेपाल-भारत व्यापारका विषयमा दिएको पछिल्लो अभिव्यक्तिमा आपत्ति जनाएका थिए। राजदूत सोङलाई नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने उनले बताएका थिए।
चीनले हालै जारी गरेको नक्सामा नेपालको भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नसमेटेकोमा पनि उनले आपत्ति जनाए।
‘चीनले हाम्रो चुच्चे नक्सालाई किन नक्सामा देखाएन?,’ उनको प्रश्न थियो।
सहमहामन्त्री यादवले बोलेको अर्को विषय थियो- नक्कली भुटानी शरणार्थी प्रकरण। यो प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण निर्दोष रहेको उनको दाबी थियो। तर सरकारले आफ्ना मानिस बचाउने र अर्को पार्टीका नेतालाई फसाउने काम गरेको दाबी उनले गरेका थिए।
उनले गठबन्धन सरकारबारे पनि केही बोले। यही गठबन्धनले पाँच वर्ष सरकार चलाउने उनको भनाइ थियो। तर प्रधानमन्त्री भने परिवर्तन हुने उनले बताएका थिए।
अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको, यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उनले बताए।
रिपोर्टर्स क्लबको साक्षात्कारमा राप्रपा महामन्त्री धवलशम्शेर राणा र पूर्वराजदूत विजयकान्त कर्णले पनि बोलेका थिए।
कार्यक्रम सकिएपछि सहमहामन्त्री यादव रिपोर्टर्स क्लबबाट बाहिरिएका थिए।
लगत्तै यादवमाथि खुकुरी प्रहार भएको हो। नुवाकोट घर भई बालाजु बस्ने श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए।
सापकोटाले रिपोर्टर्स क्लबको हलभित्र बसेर यादवको कुरा सुनेका थिए।
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। टाउकोमा चोट लागेका उनी खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्। यादवलाई कांग्रेसका नेता, कार्यकर्ताले अस्पतालमै पुगेर भेटघाट गरिरहेका छन्।
यादवलाई खुकुरी प्रहार गरेपछि सापकोटाले ‘एमसिसी खारेज गर, राष्ट्रियता जिन्दावाद, हिन्दु राष्ट्र कायम गर’ जस्ता नारा लगाएका थिए। साथै उनले ‘मानव तस्करलाई प्रधानमन्त्री बनाउन खोज्ने?’ भन्दै प्रश्नसमेत गरेका थिए। सापकोटाको साथबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ।
सापकोटालाई पक्राउ गरी सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान अघि बढाएको एसपी कुमोध ढुंगेलले बताए।
‘उहाँ (यादव) माथि के कारणले खुकुरी प्रहार भएको हो, खुलिसकेको छैन, अनुसन्धान हुँदैछ,’ उनले भने।