सुत्केरी अवस्थामा रहेकी सविना काफ्ले सवार गाडीलाई शनिबार राति प्रहरीले जाँच क्रममा रोकेको बारे मेयर बालेनको सचिवालय आइतबार विज्ञप्ति जारी गरेको थियो।
विज्ञप्तिमा मानवीय संवेदनशीलता ख्याल नराखी गाडी करिब ७ मिनेट सडक किनारामा राख्न लगाएको उल्लेख छ।
त्यस्तै सवारी चालकले बिदाको दिनमा सरकारी गाडी चलाउनका निम्ति अनुमति लिएको तर कागजात नबोकेको उल्लेख छ।
तर यी दुवै तथ्य सम्बन्धित अधिकारीहरूले खण्डन गरेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले मेयर पत्नी सवार सरकारी गाडीले बिदाको दिनमा चलाउने अनुमति नलिएको बताए। सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन पास लिनुपर्ने व्यवस्था छ।
‘जिल्लामा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले पास जारी गर्ने भन्ने व्यवस्था छ। तर प्रशासन कार्यालयबाट पास जारी भएकोबारे मलाई जानकारी छैन। हामीकहाँ पास लिएको अभिलेख देखिएको छैन,’ सिडिओ बस्नेतले भने, ‘यो पासको विषयमा उहाँहरूले नै प्रस्ट्याउनुपर्छ।
सार्वजनिक बिदाको दिन सवारीसाधनको पास बोक्न अनिवार्य हुने उनले बताए।
‘तैपनि मेयर पत्नी सवार गाडीलाई सामान्य सोधपुछपछि नै छाडिएकाले त्यहाँ पासको विषय नै भएन,’ उनले भने।
त्यस्तै गाडी सात मिनेटसम्म रोकेको भन्ने बालेनको भनाइ पनि ट्राफिक प्रहरीले खण्डन गरेको छ। बालेनको सचिवालयले भनेजस्तो सात मिनेट गाडी रोकेको र अनावश्यक केरकार नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी पोषराज पोखरेलले बताए।
मेयर पत्नी सवार गाडी जाँचको क्रममा तीस सेकेन्डदेखि बढीमा साढे १ मिनेटसम्म मात्रै रोकिएको दाबी पोखरेलले गरे।
उक्त गाडी राति ८ः५० बजेतिर नियमित जाँचमा परेको र ड्युटीमा खटिएका प्रहरीले कुनै पनि किसिमको अनावश्यक प्रश्न नसोधेको पनि उनले बताए।
‘सरकारी गाडीलाई मात्रै जाँच गर्न राखिएका जाँचपोस्ट पनि थिए। रात्रिकालीन जाँच हुन्छ हाम्रो। त्यसमा परेको हो,’ उनले भने, ‘तीस सेकेन्डदेखि जाँदासम्म बढीमा डेढ मिनेट लागेको छ। त्योभन्दा बढी लागेकै छैन। अगाडि अरू गाडी भएकाले पनि अलि बढी समय लागेको होला।’
ड्युटीमा खटिएका प्रहरीले महानगर प्रमुखको गाडी चिन्ने कुरा पनि नहुने उनले बताए।
मेयर बालेन शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा ड्युटीमा मादक पदार्थ सेवन, सुपारीजन्य पदार्थ खाएर हप्काइ दप्काइको व्यवहार गरेको पनि उल्लेख छ। यदि यस्तो गतिविधि भएको भए, यस्ता गतिविधि गर्नेलाई प्रहरीले कारबाही गर्दै आएको डिआइजी पोखरेलले बताए।
‘मादक पदार्थ, गुट्खा लगायत कुनै पनि सुपारीजन्य पदार्थहरू खान प्रहरीलाई रोक लगाएको छ। हाम्रो परिपत्र नै छ। आचरण विपरीतको काम गर्नेहरूलाई कारबाही गरिरहेका छौं। पछिल्लो दुई-चार वर्षमा हामीले यो पाएका छैनौं,’ उनले भने।
मेयर बालेन शाहले गाडी जाँच भएपछि शनिबार राति नै सिडिओ जितेन्द्र बस्नेतलाई फोन गरी आक्रोश पोखेका थिए। उच्चपदमा बसेका व्यक्तिबाटै प्रहरी प्रशासनमाथि आक्रोश पोखेपछि अहोरात्र खटिने प्रहरीको मनोबल खस्किने उनी बताउँछन्।
‘प्रहरीको प्रेरणा बढाउन हामी अपेक्षा गर्छौं। त्यसविपरीत हुँदा सुरक्षाकर्मीको मनोबल कायम गरिराख्न, काममा लगाउन समस्या देखिन्छ,’ सिडिओ बस्नेतले भने, ‘अभिभावक जस्तो व्यक्तिले ल ड्युटी गर्नुभएकोमा धन्यवाद दिनुपर्नेमा त्यसको ठीक विपरीत हुँदा सुरक्षा संयन्त्रको मनोबलमा प्रश्न उठ्छ।’
तीस सेकेन्डभित्रै जाँच सकेर पठाइएको भन्नेबारे आफूलाई ब्रिफिङ भएको उनले बताए।
‘ड्राइभरसँग सोधपुछ गर्दा उनले केही कुरा प्रस्ट नगरेको र महानगरपालिका मेयरकी म्याडम भएको जानकारी दिएपछि छाडिएको देखिएको छ,’ उनले भने।
मेयर बालेन शाहले यो घटनाबारे असन्तुष्टि व्यक्त गर्दै शनिबार राति फेसबुकमा स्टाटस लेखेका थिए।
उनले लेखेका थिए, ‘आजका लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
शनिबार उनले स्टाटसमा सन्दर्भ खुलाएका थिएनन्। गाडीमा उनकी श्रीमती सवार भएको खबरपछि यसबारे आइतबार अपराह्न बालेनको सचिवालयले विज्ञप्ति जारी गर्यो।
विज्ञप्तिमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको व्यवहारमाथि प्रश्न उठाए पनि सिंहदरबार नै जलाइदिने भन्दै पोखेको आक्रोशबारे भने केही उल्लेख छैन।
विज्ञप्तिमा बालेन पत्नी सविना काफ्ले सुत्केरी भएको र एनआइसियुमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको उल्लेख छ।
‘जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको बेहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने अनुमति भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुख सहितको परिचय खुलाएपछि प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’
सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल, के हो? कहाँ हो? यस्तो त्यस्तो गर्ने’ भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको बालेनको सचिवालयले दाबी गरेको छ।
सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालमा गत भदौ ८ गते शुक्रबार छोरीलाई जन्म दिएकी थिइन्। मेडिसिटी अस्पताल स्रोतका अनुसार आमाको स्वास्थ्य ठिक रहेकाले भदौ ११ गते सोमबार डिस्चार्ज गरेको थियो। बच्चाको स्वास्थ्य भने अझै सुधारका क्रममा रहेकाले नवजात शिशुहरूको उपचार गर्ने कक्ष (एनआइसियू) मा राखिएको छ। बच्चालाई भेट्न काफ्ले अस्पताल आउजाउ गरिरहेको पनि जानकारीमा आएको छ।