प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवासको सरकारी जग्गा हिनामिनामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भइसकेको बताएका छन्।
पोखरामा आयोजित समाजवादी मोर्चाको प्रदेश स्तरीय सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब पूर्व प्रधानमन्त्री नेपालका विषयमा प्रश्न नरहेको जिकिर गरे। “माधवजीका बारेमा पनि धेरै प्रश्नहरू आइरहेका थिए। के हो, कसो हो भनि नै राख्यो,” प्रधानमन्त्री दाहालले भने, “पहिलो चोटी अहिले उहाँ (माधवकुमार नेपाल) निर्दोष हो भन्ने सावित भयो।”
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान गरी मन्त्रिपरिषद्ले चार पटक निर्णय गरेको थियो। त्यतिवेला नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री थिए। उनीहरूमाथि पनि छानबिन हुनुपर्ने आवाज उठिरहेको थियो।
प्रधानमन्त्री दाहालले अब नेपालका विषयमा प्रश्न गर्न नहुने बताए। “अब धेरै प्रश्न उठाउने ठाउँ रहेन,” दाहालले भने, “किन भने सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएपछि सधैंको टेन्सन सकियो।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले ललिता निवास जग्गा प्रकरणमा २८९ जनामाथि मुद्दा दायर गरेको छ। सीआईबीले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईसँग घटना विवरण कागज गराएको थियो। त्यसका आधारमा दुवै जनालाई मुद्दा चलाउन नमिल्ने राय दिएको थियो।
ललिता निवास जग्गा प्रकरणलाई लिएर नेपालमाथि षडयन्त्र हुन्छ कि भन्ने आशंका पनि सकिएको दाहालको भनाइ थियो। “कहिँकतै षडयन्त्र हुने हो कि भन्ने आशंका थियो, अब त्यो स्थिति रहेन,” दाहालले भने।