माओवादी केन्द्रीय कमिटी आज बाट सुरु हुने, प्रत्यक्ष प्रसारणको तयारी
#माओवादी १७ श्रावण २०८०, बुधबार ०८:३६ 101 जनाले पढ़िसके
Spread the love
१३ महिनापछि माओवादी केन्द्रीय कमिटी बैठक बस्दै छ । बुधबारबाट सुरु हुन लागेको बैठकको उद्घाटनदेखि समापनसम्मका छलफललाई माओवादीले पहिलोपटक लाइभ गर्ने तयारी गर्दै छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावअनुसार लाइभको तयारी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष १९ देखि २१ असारयता माओवादीको केन्द्रीय कमिटी बैठक बसेको छैन । एक वर्षसम्म बैठक नबसेका कारण केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभाग गठन तथा विस्तार अवरुद्ध हुँदा पार्टी चलायमान हुन नसकेकोमा पार्टीभित्र असन्तुष्टि छ । यी सबै पक्षलाई सम्बोधन गर्ने गरी अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदनभित्र भावी कार्ययोजना र कार्यविभाजनलगायतका विषय समेटेर एकीकृत रूपमा प्रतिवेदन प्रस्तुत गर्दै छन् ।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले संगठन विस्तार र सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन, भावी कार्ययोजनासहित समेटिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत गर्ने जानकारी दिए । ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरेर पालिका तहसम्म खटाउने गरी कार्यविभाजन प्रस्ताव आउँछ,’ उनले भने ।
केन्द्रीय कमिटी बैठकको एजेन्डा भने बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले तय गर्ने उनले जानकारी दिए । प्रचण्डको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्ने गरी पार्टीको प्राविधिक टिमले तयारी गरिरहेको उनको भनाइ छ । तर, पार्टीको आन्तरिक बैठकमा समस्या उठान र आलोचना पनि हुने भएकाले लाइभ गर्न नहुने भन्दै कतिपय स्थायी समिति र केन्द्रीय समितिका सदस्यहरूले भने प्रस्तावको विरोध गरेका छन् ।
जम्बो केन्द्रीय कमिटी भएकाले सबैलाई परिचयपत्रका आधारमा मात्र हलमा छिराउने र सहभागिताका लागि हरेकलाई पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सोमबार बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ । महाधिवेशनअघि विधान सम्मेलन गर्ने माओवादीको विधानमा व्यवस्था छ ।