मधेसवाणीसँगको अन्तर्वार्तामा मन्त्री सिंहले मधेस कांग्रेसको उर्वर भूमि भएको बताए । आउँदो प्रादेशिक र संघीय चुनावमा मधेश सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने र संघीय चुनावमा पनि मधेशबाट सबभन्दा बढी प्रतिनिधित्व कांग्रेसले नै गर्ने उनले ठोकुवा गरे ।
साथै मन्त्री सिंहले नागरिकता विधेयकको विरोध गरेर नक्कली राष्ट्रवाद देखाउने कम्युनिस्टहरु मधेसबाट बढारिने उनले चेतावनी दिए । नक्कली राष्ट्रवादका कारण कम्युनिस्टको बहुमतको सरकार हुँदा लाखौ जनता नागरिकताबाट वञ्चित भएको र यसको भर्पाइ आगामी चुनावबाट हुने उनको भनाइ छ ।
हेर्नुहोस उनीसँगको अन्तर्वार्ताको सम्पादित अंश
स्थानीय तहको चुनावमा मधेश प्रदेशमा नेपाली कांग्रेसको बढोत्तरी भएको छ, आगामी प्रदेश र संघको चुनावमा कस्तो परिणामको अपेक्षा छ ?
मधेश नेपाली कांग्रेसको उर्वर भूमि हो । विगतमा केही राजनीतिक उथलपुथलले गर्दा अलि कमजोर देखिएको थियो । तर यसपटकको स्थानीय चुनावले फेरि पनि मधेश कांग्रेसको उर्बर भूमिको रुपमा स्थापित भइसकेको छ । आउँदो प्रादेशिक र संघीय चुनावमा मधेश सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्छ । संघीय चुनावमा पनि मधेशबाट सबभन्दा बढी प्रतिनिधित्व कांग्रेसले नै गर्छ ।
आगामी चुनावबाट मधेश प्रदेशमा कांग्रेसले नै सरकार बनाउँछ त ?
कांग्रेस जहिले पनि मधेशको पक्षमा छ । मधेशको सुख, दुःखमा साथ दिने पार्टी नै कांग्रेसले हो भन्ने कुरा बुझ्न एकदम जरुरी छ । विभिन्न नयाँ पार्टीहरु आए, विभिन्न नाराहरु दिए, विभिन्न आश्वासनहरु दिए तर कसैले पूरा गर्न सकेनन् । कांग्रेसकै कारणले नागरिकताविहीन लाखौं मधेशी जनताले नागरिकता पाउने भएका छन् । साढे तीन वर्ष कम्युनिष्टको करिब दुई तिहाइको सरकारले गर्न नसकेको काम कांग्रेस नेतृत्वको गठबन्धन सरकारले मधेशको पक्षमा ठूलो काम गरेर देखाइदिएको छ । मधेशको हितमा काम गर्ने पार्टी कुन हो, छर्लङ्ग छ ।
नागरिकता विधेयककै विषय लिएर कांग्रेसको आलोचना भइरहेको छ नि ?
नागरिकता विधेयक पारित भएपछि भारतका नागरिकले नागरिकता पाउँछन् भन्ने भ्रम फैलाइएको छ । सबै नेपालीले नागरिकता पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो विधेयक पारित भएपछि प्रष्ट भएको छ कि यसका विरुद्धमा को–को थिए, कसले नेपाली नागरिकलाई अनागरिक बनाएका थिए ।
मधेशसँग कसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा कसैसँग लुकेको छैन । अब भारतीयहरुले नागरिकता पाउँछन् भनेर कम्युनिष्टहरुले एउटा प्रोपोगण्डा गरिरहेका छन् । उनीहरुले झुठ्ठा राष्ट्रवादका खोक्रो नारा लगाएर मधेशलाई दबाउने काम गर्न खोजेका थिए । अब त्यो चल्दैन । कांग्रेस पहिलादेखि नै मधेशको हकहितमा सोच्दै आएको छ ।
अब कांग्रेसको दिन आउँदैछ । आगामी चुनावबाट प्रदेशदेखि संघसम्म कांग्रेसको सरकार सुनिश्चित छ । जसले जति जालझेल गरेपनि मधेशीले पाउने अधिकार कसैले खोस्न सक्दैन ।