इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु

 संवाददाता    २६ कार्तिक २०८१, सोमबार १०:०८     35 जनाले पढ़िसके



Spread the love

कात्तिक, काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ ।

राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ । त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो ।

इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो ।

इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको मृत्यु भएको थियो ।

गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएका केहीलाई रिहा गरे पनि विपिनको अवस्था अज्ञात छ ।

हमासले आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मारिनेमा निर्दोष महिला र बालबालिकाहरुसमेत छन् । लाखौं संख्यामा मानिसहरु विस्थापित भएका छन् ।