रबि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

 संवाददाता    २० कार्तिक २०८१, मंगलवार १६:२६     115 जनाले पढ़िसके



Spread the love

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको हो।

लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो।

यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको थियो। यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। असोज १४ गते लिला पछाईंलाई पक्राउ गरेको थियो। खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ९ गते पक्राउ गरेको थियो।

लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ।