नेपालमा काँग्रेस र एमाले मात्र अस्तित्वमा रहने परिस्थिति बन्छः पोखरेल

 लुम्बिनी प्रदेश     २९ आश्विन २०८१, मंगलवार १४:४०     97 जनाले पढ़िसके



Spread the love

दाङ, – एमाले महासचिव शंकर पोखरेलले नेपालमा दुई दलीय व्यवस्थाले मात्र राजनीतिक स्थिरता दिन सक्ने दाबी गरेका छन् ।

गृह जिल्ला दाङको तुलसीपुरमा आयोजित अगुवा कार्यकर्तालाई भेलालाई मंगलबार सम्बोधन गर्दै उनले धेरै दल अस्तित्वमा रहेका कारण मुलुकमा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको तर्क गरे । ‘धेरै दल हुँदा सरकारहरु अस्थिर भए ।

त्यसैले नेपाललाई दुई दलीय व्यवस्थामा लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो’, पोखरेलले भने, ‘ धेरै दल भएका कारण हंग पार्लियामेन्टले नीतिको कार्यान्वयनमा चुनौती खडा गरेको छ ।’

पोखरेलले प्रमुख दुई दल काँग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुलुकमा त्यसको साकारात्मक प्रभाव देखिन थालेको समेत जिकिर गरे । पोखरेलले काँग्रेसको समर्थनमा आफ्ना अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरे ।

काँग्रेसले पुँजीवादी र एमालेले समाजवादी विचारको नेतृत्व गर्ने भन्दै उनले जनमत ती दुई दलको वरिपरी ध्रुवीकृत भएको बताए । क्रमशः नेपालमा काँग्रेस र एमाले मात्र अस्तित्वमा रहने परिस्थिति आउने जिकिर उनको थियो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले विकास आयोजना छनोटमा जनताको प्रत्यक्ष संलग्नता हुनुपर्ने औंल्याए ।

योजनाको पहिचान र छनोट, कार्यान्वयन र प्रतिफल वितरणसम्म जनतालाई जोड्न सके मात्र विकास छिटो र दिगो हुने उनको भनाइ थियो । फोटो : फाईल