धनुषा प्रहरी हिरासतबाट भागेका नौ थुनुवा पक्राउ

 संवाददाता    ८ आश्विन २०८१, मंगलवार ११:३४     49 जनाले पढ़िसके



Spread the love

हिरासतबाट भागेका सबै थुनावालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषा सफल भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयको सक्रियतामा भागेका नौ जनालाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

आइतबार राती करिब साढे ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन फोरेर नौ थुनुवा फरार भएका थिए । घटनालगत्तै प्रहरीले सर्च अप्रेसनका क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको थियो भने पाँच जनालाई दिउँसो धनुषाको लखौरीबाट पक्राउ गरेको थियो। बाँकी रहेका दुई जना विशाल मुखियालाई सोमबार राती र मनिस मुखियालाई आज बिहान करिब ९ बजे सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको उनले बताए ।

प्रहरी हिरासतबाट सिराहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका– २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय मनिस मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, धनुषाको औरही गाउँपालिका– २ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका– १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका– २ का १८ वर्षीय मनीष मण्डल र जनकपुरधाम– ४ का २२ वर्षीय विक्की कार्की फरार भएका थिए ।

उनीहरु ६ जना लागुऔषध र तीनजना शान्तिसुरक्षा तथा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । यता, भौतिक पुर्वाधार सम्पन्न तथा प्रहरीको निगरानीमा रहने थुनुवा कक्षबाट भाग्नु प्रहरीको ठुलो लापरवाही भएको बताए । मधेश प्रहरी प्रमुख लालमणि अचार्यले सोमबारनै घटनास्थलको निरीक्षण गरि वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र गुरुको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । त्यसैगरि, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक रंजन अवाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।