महावीर पुनलाई सरकारले दियो संघिय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा

 संवाददाता    ५ भाद्र २०८१, बुधबार १५:४८     54 जनाले पढ़िसके



Spread the love

काठमाण्डु– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको छ ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनलाई आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

अब केन्द्रले हाल मन्त्रालयअन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सुरुवातमा १७ वटा सङ्घीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भए पछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताए ।