बझाङमा पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु

 संवाददाता    ३ भाद्र २०८१, सोमबार ०९:०७     31 जनाले पढ़िसके



Spread the love

काठमाण्डु-बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

गए राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० टुमेडाका एकै परिवारका चार जना बेपत्ता थिए । उनीहरूको शव आज बिहान फेला परेको हो ।

पहिरोमा पुरिएर ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको छ ।

उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) फणीन्द्र भण्डारीसहितको टोली समेत राहत सामाग्रीसहित बुंगलतर्फ हिँडिसकेको छ ।

प्रहरीकाअनुसार रातिको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।