सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

 संवाददाता    ३० श्रावण २०८१, बुधबार १९:१२     28 जनाले पढ़िसके



Spread the love

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् ।

५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका छन् ।

स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी भने तटस्थ बसेका छन् । बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए ।
२१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।