कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने

 संवाददाता    २० श्रावण २०८१, आईतवार १६:३५     27 जनाले पढ़िसके



Spread the love

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादीसँगको गठबन्धनमा सरकार गठन भएपछि उनले विश्वासको मत लिएका थिए । अहिले एमाले र कांग्रेसको गठबन्धन भएका कारण विश्वास मत लिन लागेका हुन् ।

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिन भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको बताए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ । प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन् । यसबाहेक माओवादी १३, रापप्रा र एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एकजना छन् ।

कर्णालीमा कांग्रेसबाट सिफारिस मन्त्रीहरूको शपथमा ढिलाइ भएको छ । कांग्रेसले शुक्रबार बिहान ११ बजे मुख्यमन्त्रीलाई मन्त्रीको नाम बुझाएको थियो । कांग्रेसले आर्थिक मामिला तथा योजनामन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढाको नाम दिएको थियो ।