गण्डकी प्रदेशका मुख्यमन्त्री उपचारका लागि भारत जाँदै

 संवाददाता    ११ श्रावण २०८१, शुक्रबार ०८:४४     24 जनाले पढ़िसके



Spread the love

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतको नयाँदिल्ली जाने भएका छन् । घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली उड्दै छन् ।

भारत जाने भएपछि पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिएका छन् ।

मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि दिल्ली जान लागेको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । उनका अनुसार पाण्डे ४ दिनपछि फर्किने छन् ।

मुख्यमन्त्री भारत गएपछि सत्ता समीकरणमा रहेको नेकपा एमालेको अझै केही समय सरकारमा सहभागिता नहुने निश्चित देखिएको छ । एमालेले मुख्यमन्त्री पाण्डेले तदारुकता नदेखाएकै कारण सत्ता समीकरणअनुसार सरकारमा सहभागिता नभएको बताउँदै आएको छ ।

मुख्यमन्त्री पाण्डेले आफूसहित कांग्रेसबाट २ तथा आफूलाई विश्वासको मत दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएका छन् ।

एमालेसँग गठबन्धन भए पनि मुख्यमन्त्री पाण्डेले देवकोटा र गुरुङलाई मन्त्री पदबाट नहटाउने बताइरहेका छन् । त्यसमा एमालेले असहमति जनाइरहेको छ । जसका कारण गण्डकीमा सत्ता समीकरणमा देखिएको गाँठो फुकिसकेको छैन ।