नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले आज मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन् ।
वैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दुर्गा रावत र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रणसिंह परियारले आज राजीनामा दिएका हुन् ।
राजीनामापत्र बुझ्दै मुख्यमन्त्री कँडेलले मन्त्रीहरूलाई सहकार्यका लागि धन्यवादसमेत दिए । उनले राजनीतिमा यस्तै हुने बताउँदै आगामी दिनमा पनि सहकार्य, सहमति गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।