रौतहटमा दुर्घटना हुँदादुई जना भारतीय नागरिकको मृत्यु

 #दुर्घटना     ९ असार २०८१, शनिबार १०:४७     15 जनाले पढ़िसके



Spread the love

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् ।

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा तर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कार्पियो गाडीको पछाडि देब्रे तिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।

गाडी खयरको रुखमा ठोक्किएर क्षतिग्रस्त गाडीमा सवार दुई जनाको मृत्युसँगै ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

मृत्यु हुनेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला ग्राम पञ्चायत झिट्काहीया ४ का ३५ वर्षीय तमन्ना शेख रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सोही ठाउँका २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी चालक २२ वर्षीय सोहेल अमिर समेत घाइते भएका थिए। घाइतेहरूको वीरगन्जमा उपचार भएको प्रहरीको भनाई छ।